पुन सवार गाडीमा एम्बुस बिस्फोट

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनसहित रोल्पाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार एवम् वाम गठबन्धनका नेता कार्यकर्ता सवार गाडीमा बिद्युतीय धरामप (एम्बुस) बिस्फोट भएको छ । एम्बुस विस्फोट गराउनेतर्फ लक्षित गरि प्रहरीले १०र१२ राउन्ड फायर गरेको थियो । करिव एक सय मिटर अगाडि युवा देखेर प्रहरीले फायर समेत गरेको थियो । 

माडी गाउँपालिका १ भिताबाङ र पेडिखोलाको बिच सडकखण्डमा तार बिछ्याएर पुन चढेको बा १५ च ८७२८ गाडीमा एम्बुस गराइएको थियो । सुकीदहको सुखा ओडारमा चुनावी सभा सम्पन्न गरेर शनिबार बिहान राङ्सीको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा पौने ११ बजेतिर बिस्फोट गराइएको हो ।

प्रहरीको गाडी क्रस हुनाबित्तितै वर्षमान पुनसहित माओवादी प्रदेशसभाका उम्मेदवार एवम् पोलिटब्यूरो सदस्य दीपेन्द्रकुमार पुन, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ जयपुरी घर्ती, समानुपातिकतर्फका वाम गठबन्धनका उम्मदेवार ईश्वरी घर्ती, कुमार दसौती, कर्मलाल परियार, हरिसरा घर्ती, एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती, एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीलगायतका सवार गाडी लक्षित गरी गराएको बिस्फोटमा गाडीमा सामान्य क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी नायब निरीक्षक सुदर्शन पन्थीका अनुसार घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको छ । प्रहरीले चुनावी खारेजी अभियानमा लागेको नेकपाले बम बिस्फोट गराइको आशंका गरेको छ। घर्तीलगायत सबै नेताहरु घर्तीगाउँमा बसेका छन् । थप सुरक्षाका साथ राक्सीको कार्यक्रममा जाने तयारी भइरहेको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा चढेको गाडी लक्षित गरी रुकुममा बिस्फोट गराइएको थियो ।