सत्तापक्षकै सांसद गरे बजेटको विरोध : ‘भनौं भने घरकै बुहारी, नभनौं भने भ्रष्टै पारी’

काठमाडौं  : प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सत्तापक्षकै सांसदले सरकारको आलोचना गरेका छन् । उनीहरुले बजेटका कारण आफूलाई जिल्ला फर्कन समेत गाह्रो  भएको बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद मोहन बानियाँले बजेटका कारण जिल्लामा गएर अनुहार देखाउन समेत समस्या हुने अवस्था सृजना भएको बताए । उनले ओक्रोशित हुँदै भने, ‘त्यो बजेट लिएर कसरी हामी जिल्ला फर्कने , यो अनुहार कसरी देखाउने ? कविताबाट  बोल्न सुरु गरेका सांसद बानियाँले बजेटबाट आफूमा ज्वाराभाटा उठेको  भन्दै आक्रोश पोखे । उनले  भने, ‘भनौं भने घरकै बुहारी, नभनौं भने भ्रष्टै पारी’।

मुगुका सांसद बानियाँले वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रारा सम्बोधनमा घोषणा गरेको कुरा समेत बजेटमा नराखिएकोमा दुख व्यक्त गरे । ‘२०७५ साल वैशाख १ गते प्रधानमन्त्रीले रारामा गएर सम्बोधन गरेको कुरा पनि बजेटमा समावेश नगरिएको आरोप लगाउँदै बानियाँ भने,‘खोइ प्रधानमन्त्रीको रारा सम्बोधनको कुरा बजेटमा ?’

उनले रारा गुरुयोजनामा बजेटमा नपारिएकोमा गुनासो गरे ।  उनले भने,‘धर्तीको स्वर्ग रारा जान कति रमाउँछौ‌, रारा गुरुयोजनाको लागि बजेट छुट्याइदिनु पर्दैन थियो ?' उनले बजेटमा मानव विकास सूचाङ्कमा पछि परेका जिल्लालाई प्राथमिकता नै नदिएको बताए ।

 उनले अहिलेको बजेट विनियोजनले नेपाल अल्पविकसित राष्ट्रको सूचीमा उक्लन नसक्ने दाबी गरे ।दुर्गम क्षेत्र विकास समिति खारेज भएकोमा उनले विरोध जनाए ।  

 सत्ता पक्षकै अर्का सांसद गोपाल वमले बजेटमा मुगुलाई विभेद गरेको आरोप लगाए । ‘हामी तलब भत्ता खान मात्र आएका होइनौं, हामीलाई दिनुहोस् पनि भनेका हाेइनाै‌, जिल्लालाई मागेका हौं’ सांसद वमले भने, ‘मुगुलाई बजेटमा  विभेद भएको छ, मन्त्री भएको जिल्लामा २४/२४ योजना पर्ने, अनि हामी खाली हात ? ।’ उनले कर्णालीप्रति सरकार अनुदार भएको आरोप समेत लगाए ।

 नेकपाका सांसद अमनलाल मोदीले मुल्यवृद्धि अकासिएको भन्दै नियन्त्रण गर्न तत्काल सरकार लाग्नु पर्ने बताए ।   दैनिक उपभोग्य वस्तुको चरम मुल्यवृद्धि  र हाहाकार भएको छ , उनले भने ,‘मुल्यबृद्धि र महँगाइमा मौनता होइन सशक्त अनुगमन हुनुपर्छ ।’

source:annapurna