आगलागीमा उद्धार गर्ने नेपाली युवा सिड्नीमा सम्मानित

आगलागीमा उद्धार गर्ने नेपाली युवा सिड्नीमा सम्मानित

७ फेब्रुअरी, सिड्नी । दुई महिना अघि सिड्नीको आस्फील्डमा भएको आगलागीबाट नाबालकलाई बचाउने नेपाली युवा याम धिताल सिड्नीमा सम्मानित भएका छन् । उनलाई स्टार्थफिल्ड कलेजले मंगलबार बिहान सम्मान गरेको हो ।
आसफील आगलागीका बेला चार वर्षे बालक शिरिष थापाको जीबन बचाउन अदम्य साहस प्रदर्शन गरेकाले उनलाई ‘समाज सेवा सम्मान’ गरिएको स्टार्थ फिल्ड कलेजले बताएको छ ।उक्त कलेजका वरिष्ठ उपाध्यक्ष रु बस्थुयजनले अपेक्षा गर्दछौं । सम्मान कार्यक्रममा बोल्दै यामले भने, ‘मलाई यो सम्मानले असल काम गर्न प्रेरित गर्ने छ ।उनी अहिले स्टार्थफिल्ड कलेजमा विजनेश विषयका विद्यार्थी पनि हुन् ।
त्यस्तै सिड्नीमा भएको उद्यमी भेलामा निम्त्याइएका याम धिताल धेरैका बधाईका पात्र थिए । गैर आवासीय नेपाल संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले उनलाई दुर्घटनाबाट त्यो परिवारलाई बचाएकोमा प्रशंसा गरे ।
उनले भने, ‘त्यस्तो जोखिमपूर्ण काम गरेर मानव जीबन बचाएकोमा यामलाई धन्यवाद छ ।’
सोही कार्यक्रममा उपस्थित नेपाली दूतावास क्यानवेराका कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले पनि उनलाई बधाई तथा शुभकामना दिएका थिए ।
एक महिना अघि अष्ट्रेलिया भ्रमणमा आएका नेपालका पर्यटनमन्त्री जीबनबहादुर शाहीले पनि यामलाई उक्त साहसिक कामका लागि बधाई दिएका थिए ।
‘समय अभावले भेट्न पाईन, तपाईंले गरेको समाजसेवी कामको म नेपाल सरकारको तर्फबाट बधाई दिन्छु । र, उत्तरोत्तर प्रगतीको कामना गर्दछु,’ नेपाल फर्किन विमानस्थल तर्फ जाँदै गर्दा मन्त्री शाहीले टेलिफोनमा भने ।

पीडित परिवारसँग मित्रता

आगलागी पीडित तेजबहादुर थापाको परिवारले पनि याम धितालप्रति आभार व्यक्त गरेको छ । अहिले तेज थापा र याम धितालको मित्रता झन् नजिक भएको छ ।
आगलागीबाट परिवार बचाउनका लागि प्रयास गरेका तेज थापा घाइते भएपछि करिब एक हप्ता अस्पताल बस्नु परेको थियो । उनलाई अस्पतालबाट डिस्चार्ज गरेर यामले नै घरसम्म पुर्‍याएका थिए । हाल बेला-बेलामा समस्या पर्दा तेज यामलाई बोलाउँछन् र उनी तत्काल हाजीर हुन्छन् ।
आगलागी भएको केही हप्तासम्म चार वर्षीय बालक शिरिषलाई मनोवैज्ञानिक डर बसेको थियो । राति रुने र कराउने गर्ने उनलाई बिभिन्न सामाजिक संस्थाहरुले घरमै खेलौनाहरु ल्याइदिएका थिए ।
तेज थापाकी श्रीमती काम गर्ने होटलले पनि उक्त परिवारलाई आवश्यक सहयोग गरेको थियो । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले पनि एक हजार पाँच सय अष्ट्रेलियन डलर सहयोग गरेको थियो ।
आगलागीमा नगद तथा जिन्सी सम्पत्ति गुमाएका अरु दुई नेपाली राम घले र नीर गर्बुजालाई पनि अष्ट्रेलियाबासी नेपालीहरुले सहयोग गरेका थिए ।
(Credit: Onlinekhabar.com)