
प्रधानमन्त्रीबाट विभिन्न देशका राजदूतसग छलफल, संविधानसभा विघटन पछिको परिस्थितिबारे राजदूतहरूलाइ जानकारी ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले काठमाडौस्थित विभिन्न देशका राजदूतसग सामूहिक छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री भट्टराइले संविधानसभा विघटन पछिको परिस्थितिबारे राजदूतहरूलाइ जानकारी गराउनुभएको थियो । उहाले निर्वाचनको घोषणा, संविधानसभाको विघटन पछि दलहरूबीच सहमति जुटाउन भएका पहलबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री भट्टराइले चुनावमा सहयोग गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा श्रेष्ठले जानकारी दिनुभयो । छलफलमा राजदूतहरूले संविधानसभाको आकस्मिक विघटनले आफूहरु निकै चिन्तित भएको भन्दै सरकारले तोकेको निर्वाचनको बारे चासो राखेका थिए । छलफलका क्रममा राजदुतहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री भट्टराइले तोकिएकै समयमा संविधानसभाको चुनाव हुने सुनिश्चितता भए चुनाव अगावै राजीनामा दिने बताउनुभएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठले संविधानसभाको विघटनका विषयमा देश तथा विदेशमा विभिन्न भ्रम छर्ने काम भएकोले वास्तविकता जानकारी गराउनको लागि राजदुतसंग छलफल गरेको जानकारी दिनुभयो ।





















