
माओवादी र मोर्चाको रणनीतिका कारण संविधान निर्माण हुन नसकेको एमालेका नेता नेपालको आरोप, सहमतिका लागि प्रधानमन्त्रीको राजीनामा पहिलो शर्त ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशलाइ लामो समयसम्म संविधानविहीन राख्ने एकीकृत नेकपा माओवादी र मोर्चाको रणनीतिका कारण संविधान निर्माण हुन नसकेको आरोप लगाउनु भएको छ । गणेशमान सिंहको १५ औ स्मृति दिवसको अवसरमा गणेशमान सिंह केन्द्रले टोखामा गरेका कार्यक्रममा नेता नेपालले देशलाइ संविधान विहीन राख्ने रणनीतिकै कारण जेठ २ गते भएको पाचबुदे सहमतिवाट सत्तारुढ दल पछि हटेको आरोप लगाउनु भयो । नेता नेपालले सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराइको राजीनामा पहिलो शर्त हुने बताउनुभयो । नेता नेपालले २०/२५ वर्षसम्म एकलौटी शासन चलाउछु भन्ने माओवादीको हुकार लोकतन्त्रका लागि चुनौती भएको धारणा राख्नुभयो । नेता नेपालले वर्तमान राजनितिक संकटको निकासका लागि गणेशमान सिंह जस्तो त्यागी, दृढ र कर्मठ नेताको आवश्यकता रहेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका विवादित विषायलाइ जनमत संग्रहवाट समाधान नगरे अर्को संविधानसभाले पनि संविधान ल्याउन नसक्ने दावी गर्नुभयो । महामन्त्री सिंहले अन्तरिम संविधानलाइ लिगमा ल्याउन प्रधानमन्त्री वावुराम भट्टरार्इले राजीनामा दिनुपर्ने बताउनुभयो । कार्यक्रमममा नेपाली कांग्रेसका केन्दि्रय सदस्य लगायत सहभागीहरुले गणेशमान सिंहको योगदानलाइ अनुशरण गरेमात्र वर्तमान राजनितिक तथा संवैधानिक संकटले निकास पाउने धारणा राखेका थिए । कार्यक्रममा गणेशमान सिंह भुमिगत भएको बेला सहयोग गर्ने स्थानिय वासिन्दा नारायण श्रेष्ठ, रामखड्गी लगायतलाइ सम्मान गरिएको थियो ।




















