
राष्टि्रय जनमुत्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दले अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
लिम्बुवान राज्य खोसिएको दिन साउन २२ गतेलाइ 'कालो दिन' को संज्ञा दिदै परिषद्ले पूर्वको ९ जिल्लामा बन्दको आह्वान गरेको हो । बन्दको प्रभाव अरुण पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा परेको छ । बन्दका कारण पूर्वपश्चिम, कोशी र मेची राजमार्गमा लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै, यस क्षत्रका बजार, शैक्षिक संस्था, उद्योगकलकारखाना लगायत अन्य संघसंस्थासमेत ठप्प छन् । सार्वजनिक यातायतका साधन नचले पछि सयौं यात्रु अलपत्र परेका छन् । बन्दलाइ मध्यनजर गर्दै पूर्वका प्रमुख शहरहरुमा प्रहरी व्यवस्था कडा पारिएको छ । वि.स. १८३१ साउन २२ गते लिम्बुवान राज्य गुमेको एतिहासिकतालाइ आधार मान्दै लिम्बुवान प्रदेश घोषणा गरिनुपर्छ भन्ने सांकेतिक आन्दोलनका रुपमा बन्द आह्वान गरिएको परिषद्का केन्द्रीय सचिव विष्णु थाम्देनले जनाउनुभयो ।



















