
बाढीले बगाएर आज कैलालीमा दुइ र कञ्चनपुरमा एक जनाको मृत्यु, महाकाली नदीमा पानीको बहाव यस वर्षकै उच्च ।
अविरल बर्षापछि आएको बाढीले बगाएर कैलालीमा दुइ र कञ्चनपुरमा एक जनाको मृत्युभएको छ । आज विहान कैलालीको चुहा गाविस वडा नम्बर ९ गुलरेनीमा खोलाले बगाउदा ३२ वष्रीया ललिता जोशीको मृत्युभएको हो । उनीसगै रहेकी डम्मरा जोशी र अम्मकला थापा घाइते भएकी छिन् । त्यस्तै, कैलालीकै चौमालामा ५ वष्रीया इन्द्रा साउदको घर नजिकैको नालामा डुबेर मृत्यु भएको छ । यसैबीच, कञ्चनपुरको झलारी गाविस वडा नम्बर ७ का ३० वष्रीय पुरन दमाइको स्थानीय सुनवरा नदीमा डुबेर मृत्युभएको छ । अविरल बर्षापछि आएको बाढीले कैलालीका करिव सयभन्दा बढी घर डुबानमा पारेको रेडक्रस कार्यालयले जनाएको छ । यसैबीच, टीकापुर नगरपालिका, विजयनगर र शक्तीनगरस्थित मुक्त कमैया शिविरका ८५ घरका ४ सय २२ जनाको उद्धार गरिएको छ । यता, महाकाली नदीमा पानीको बहाव यो वर्षकै सबैभन्दा उच्च पुगेको छ । आज विहान महाकाली नदीमा २ लाख १९ हजार क्युसेक पानी मापन गरिएको छ । पानीको बहाव बढेको भन्दै भारतीय पक्षले महाकाली नदीमा रहेको शारदा पुलमा विहानैबाट आवत जावत बन्द गराएको छ ।



















