
वर्तमान सरकारले लोकतन्त्र मास्न लागेको कांग्रेस जिल्ला सभापतिहरूको आरोप, गतिरोध अन्त्यका लागि कदम चाल्न राष्ट्रपतिलाई आग्रह ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले वर्तमान गतिरोध अन्त्यका लागि अग्रसर हुन राष्ट्रपति डाक्टर रामवरण यादवलाई आग्रह गरेका छन् । कांग्रेस जिल्ला सभापतिहरूको दोस्रो राष्टि्रय भेलामा भाग लिन आएका सभापतिहरूले आज विहान शितल निवासमा राष्ट्रपतिलाई भेटी संकट समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् । उनीहरूले वर्तमान सरकारले एकलौटी शासन गरेर लोकतन्त्र मास्न लागेको भन्दै त्यसलाई रोक्न राष्ट्रपतिले नै कदम चाल्नुपर्ने धारणा राखेका छन् । उनीहरूले हालै सम्पन्न भएको जिल्ला सभापतिहरूको भेलाले गरेको निर्णयबारे जानकारी गराउदै संविधान पुनस्र्थापना भन्दा पनि संसदीय चुनावका लागि पहल गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । भेटमा राष्ट्रपति डाकटर यादवले राजनीतिक संकट समाधान अन्त्य गर्ने जिम्मेवारी दलहरूकै भएको भन्दै सहमति बिना संकट समाधान नहुने धारणा राख्नुभएको थियो । राष्ट्रपतिले संविधान मिच्ने काम आफूले पनि नगर्ने र दलहरुले पनि गर्न नहुने धारणा राख्नुभएको भेटमा सहभागी कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । राष्ट्रपति यादवले संकट समाधानका लागि केही दिनमै नेताहरूसग छलफल गर्ने बताउनुभएको पनि केसीले जानकारी दिनुभयो ।




















