
सिरियाली कदम विरुद्धको 'भत्र्सना प्रस्ताव' संयुक्त राष्ट्रसंघको साधारण सभाबाट पारित, हिंसा रोक्न नैतिक दबाब पर्ने विश्वास
। संयुक्त राष्ट्रसंघको साधारण सभाले सिरियामा जारी हिंसामा सरकारले चालेको कदमविरुद्धको 'भत्र्सना प्रस्ताव' बहुमतले पारित गरेको छ । राष्ट्रसंघमा साउदी अरबको अगुवाइमा 'भत्र्सना प्रस्ताव' दर्ता गराइएको थियो । प्रस्तावको पक्षमा १ सय ३३ मत र विपक्षमा १२ मत परेको थियो । सिरियाविरुद्धका विभिन्न प्रस्तावहरू भिटो प्रयोग गर्दै असफल बनाउदै आएका चीन र रसियाले यो प्रस्तावको पनि विरोध गरेका छन् । चीन र रसियाले पारित प्रस्ताव एकपक्षीय भएको र विद्रोहीलाई थप हौसला प्रदान गरेको भन्दै विरोध गरेका हुन् । 'भत्र्सना प्रस्ताव' साधारण सभामा बहुमतले पारित हुनुले सिरिया सरकारलाई नैतिक दबाब पर्ने अरब लिग र पश्चिमा राष्ट्रहरूले जनाएका छन् । राष्ट्रसंघको साधारण सभामा प्रस्ताव बहुमतले पारित भए पनि सिरिया सरकार समक्ष नैतिक दबाब बाहेक कुनै बाध्यकारी दबाब भने परेको छैन् ।




















