ज्ञानेन्द्रले भने, जय हिन्दू राज्य नेपाल
पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलका साथ सोमबार सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ भइरहेको स्थल वनकाली पुगे । उनको स्वागतमा देखिए- कांग्रेस नेता खुमबहादुर खड्का । पहिला पार्टी संवैधानिक राजतन्त्रको पक्षमा उभिएका बेला गणतन्त्रको वकालत गरेर विवादमा तानिएका खड्काले उनलाई राम्रै झुकेर अभिवादन गरे । बाक्लो सुरक्षा घेराबीच यज्ञस्थलमा करिब आधा घन्टा उनीहरूबीच संवाद पनि भयो । कुराकानी नसुनिए पनि दुवैले उत्तिकै टाउको हल्लाएका थिए ।
हिन्दुराज्य पुनःस्थापना गर्ने भनेर कालीदास बाबाले आयोजना गरेको अखण्ड महायज्ञमा सहभागी हुन ज्ञानेन्द्र साढे ११ बजे पशुपति क्षेत्र पुगेका थिए । उनको स्वागतका लागि गौशालादेखि नै लामबद्ध हुनेको संख्या पनि निकै थियो । ज्ञानेन्द्र गाडीबाट झरेर स्वागत लिँदै यज्ञस्थलमा पुग्दा खड्काले आयोजककै हैसियतमा अभिवादन गरेका थिए ।
'हिन्दुराज्य पुनर्बहाली हुनुपर्छ भन्ने अभियानमा मेरो साथ र अडान छ,' खड्काले कान्तिपुरसँग भने, 'तर, पूर्वराजासँग मेरो छुट्टै कुनै संवाद भएको होइन । राजा ब्युँताउने मेरो चाहना पनि होइन ।' उनले आफू दिनहूँ महायज्ञस्थल पुगी अतिथिहरूलाई स्वागत गर्ने गरेको बताए । 'किनकि यो मेरो पनि अभियान हो,' उनले भने, 'हिन्दुराज्य बहालीको लक्ष्य राखेर कालीबाबाले सुरु गरेको अभियानमा मेरो साथ छ ।'
त्यसबखत कालीबाबाले हिन्दुराज्य घोषणा गर्ने आफ्नो चाहना र अभियान रहेको जानकारी गराएका थिए । त्यसमा पूर्वराजाले पनि आफ्नो समर्थन जनाए । 'मैले २ सय ४० वर्षको इतिहास बोकेको राजगद्दी त्यसै त्यागेको होइन, शान्ति र सुशासन कायम होला भनेर हो,' ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दै कालीदास बाबाले भने, 'तपाईंले जुन उद्देश्य राखेर अखण्ड महायज्ञ लगाउनुभएको छ, त्यसमा सफलता मिलोस् भनेर शुभकामना दिनुभयो ।' करिब आधा घन्टा यज्ञस्थलमा बसेका ज्ञानेन्द्रले एक लाख रुपैयाँ दानसमेत गरे । बाबाले उनलाई माला लगाएर प्रसाद दिएका थिए ।
कालीबाबाले पूर्वराजा र खुमबहादुरलाई माओवादीलगायत नेताहरूसमेत आएर समर्थन जनाएको जानकारी गराएका थिए । माओवादी नेता आएको जानकारी गराउँदा ज्ञानेन्द्र र खड्का एकसाथ हाँसेका थिए ।
'धर्मले ठाउँ छाडेको र धेरैले धर्म बिर्संदै गएकाले आफू हिन्दुराज्य घोषणा गर्ने अभियानमा लागेको' कालीबाबाले संवाददाताहरूलाई बताए । 'मैले पूर्वराजालाई पनि यहाँ जानकारी दिएँ,' उनले भने, '६ सय १ ले हिन्दुराज्य फालेर फालिँदैन ।'
तपाईं राजतन्त्र ब्युँताउने अभियानमा लाग्नुभएको हो ? भन्ने प्रश्नमा उनको जवाफ थियो, 'यो त जनताको कुरा हो । जनताले चाहे जापान र थाइल्यान्डमा जस्तो राजा आउन पनि सक्छन् तर हिन्दुराज्य भने कायम हुनैपर्छ ।'
ज्ञानेन्द्र त्यहाँ पुग्दा केही राजावादीहरूले 'राजा आऊ देश बचाऊ, हाम्रो राजा प्राणभन्दा प्यारो छ' जस्ता नारा लगाएका थिए ।
यअसघि कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई समेत पुगेर आयोजकको उद्देश्यमा ऐक्यबद्धता जनाएका थिए । भट्टराईले पनि हिन्दुराज्य कायम हुनुपर्ने बताएका थिए । चौबीसै घन्टा चल्ने अखण्ड महायज्ञमा माओवादीका वरिष्ठ नेताहरू पनि रातिराति आउने गरेको आयोजकहरूले बताए । उपराष्ट्रपति परामानन्द झा, मन्त्रीहरू, पूर्वमन्त्रीहरू समेत महायज्ञमा पुगेर कालीबाबालाई भेट्ने गरेको आयोजक समितिका एक सदस्यले बताए ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment