कोइराला र पचण्डबीच फेरि सहमति
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच उच्चस्तरीय राजनीतिक संयन्त्र तत्काल गठन गर्ने सहमति भएको छ । कोइरालालाई भेट्न सोमवार अपरान्ह कोइराला निवास पुग्नुभएका प्रचण्डले यस्तो जानकारी दिनुभएको हो । भेटमा सत्ता समिकरणबारे कुरा नभएको पनि उहाले बताउनुभयो । सोमबार अपरान्ह भएको भेटमा कोइरालाले सरकार ढाल्ने सहमति भएको भन्ने प्रचण्डको भनाइप्रति ध्यानाकर्षण गराउनुभएको थियो ।
‘गिरिजावावुसँग बसेर सरकार ढलाउने कुरा भयो भनेर मैले भनेको पनि थिइँन र त्यो मेरा भनाइको आशय पनि थिएन,’ कोइराला निवास महाराजगन्जमा भएको भेटपछि संवाददाताहरुलाई अध्यक्ष प्रचण्डले भन्नुभयो ।
सिंगापुरमा सरकार ढाल्ने सहमति भएको अभिव्यक्ति नदिएको बताउँदै प्रचण्डले आफूले वर्तमान सरकारलाई सरकार नठानेको मात्र भनेको बताउनुभयो । कोइराला निवासमा उपप्रधानमन्त्री सुजाता कोइरालाको अघिल्तिर उभिएर प्रचण्डले भन्नुभयो, ‘तपाईहरुले (पत्रकारहरुले) मलाई सरकारको बारेमा प्रश्न सोध्दा मैले यो सरकारलाई हामीले कहिले सरकार जस्तो ठानेका छैनौं, यो कृतिम छ, अस्वभाविक छ, विगठन हुन्छ मात्र भनेको थिएँ ।’ उहाँले सरकारबारेको भनाइ कोइरालासँग नभएर आफ्नो व्यक्तिगत मात्र भएको बताउनुभयो ।
कोइरालासँग सिंगापुरमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने बिषयमा मात्र कुरा भएको प्रचण्डले जिकिर गर्नुभयो । सोमबार भएको छलफलमा पनि संयन्त्र निर्माण र मध्यमार्गी बाटो अपनाउने बिषयमा कुरा भएको उहाँले बताउनुभयो ।
सिंगापुरमा उपचारका लागि गएकाबेला प्रचण्डले कोइरालालाई भेट गरेर संयन्त्र निर्माण र गतिरोध अन्त्यका लागि मध्यमार्गी बाटो अपनाउने सहमति गर्नुभएको थियो । प्रचण्डले एक दुई दिनभित्र सहमति निस्कने बताउनुभयो । ‘एक-दुई दिनभित्र केही न केही निष्कर्ष अवश्य आउँछ,’ प्रचण्डको भनाइ थियो ।



del.icio.us
Digg



Post your comment