इराकमा उनीहरु मारिए,म यसरी बाँचे
सुखद भविष्यको सपना देख्दै अमेरिका जाने सपना देखेका बुद्धिलाल गुरुङ इराक पो पुगे। त्यो पनि त्यस्तो समयमा जतिबेला इराकी विद्रोही समूहले १२ नेपालीको घाँटी रेटी हत्या गरेका थिए। केही सेकेन्डको मात्रै फरक। नत्र उनको पनि उही हालत हुनसक्थ्यो। बिहीबार राष्ट्रसंघीय मानवअधिकार उच्चायोगद्वारा न्युयोर्कमा आयोजित कार्यक्रममा गुरुङले करुण आग्रह गरे- म जस्तो मानवतस्करको फन्दामा परेकाहरुलाई बचाउनुस्। राष्ट्रसंघका महासचिव बान की मुनद्वारा उदघाटन गरिएको कार्यक्रममा गुरुङले सबै सामु आफ्नो व्यथा पोखेका थिए।
माओवादी र सेनाबीच युद्ध चलिरहँदा सन् २००४ मा गुरुङले अमेरिका जाने जमर्को गरेका थिए। बेरोजगार गुरुङलाई दलालहरुले महिनाको ५ सय डलर कमाइने जागिर पाइन्छ भनी लोभ्याए पनि। अमेरिका जाने आशमा उनले २ लाखभन्दा बढी ऋण खोजे र दलाललाई बुझाए। तर उनलाई अमेरिका हैन नयाँ दिल्ली हुँदै जोर्डन पो पुर्याइयो। एक महिना जोर्डनमा राखेपछि उनलाई अरु ११ जनासहित एउटा भ्यानमा राखी इराकको राजधानी बग्दाद लगियो। उनीहरुभन्दा अघि गुडेको १२ नेपालीसहितको भ्यान अपहरणमा पर्यो। टेलिभिजनमा ती नेपाली साथीहरुलाई बन्दूकधारीहरुले टाउकोमा हतियार तेर्स्याउँदै गरेको दृश्य देखियो। पछि उनीहरुको टाउको काटी हत्या गरियो। गुरुङले कार्यक्रममा बताए, 'मलाई अमेरिकी सेनाको अल असाद वायु शिविरमा लगियो। त्यहाँ मलाई दिने तलब नेपालमा वाचा गरिएको पाँच सय डलरभन्दा निकै कम थियो। हामी दिनहुँ बम विस्फोटका आवाज सुन्थ्यौँ। हाम्रो ज्यान जोखिममा परेको हामीलाई थाहा थियो।' 'म सँधै नेपाल फर्कन चाहन्थेँ। तर न मेरो पासपोर्ट मसँग थियो, न फर्कनलाई मसँग पैसा नै थियो।.....अन्त्यमा १५ महिनापछि मलाई नेपाल फर्कने अनुमति दिइयो र यसरी मेरो जिन्दगी बच्यो।' 'मानव व्यापारको यस्तो फन्दामा फँसेका मजस्ता मानिसहरुलाई बचाउन म तपाईँ ठूला मान्छेहरुलाई बिन्ती गर्छु', उनले सम्बोधनको अन्त्यमा आग्रह गरे। कार्यक्रममा विद्रोहीहरुद्वारा अपहरण गरी ८ वर्षसम्म यौनदासी र मानवढालकाका रुपमा राखिएकी युगान्डाकी एक १४ वर्षकी किशोरी, प्रेमीले न्युयोर्कको यौन व्यवसाय गर्ने स्थानमा काम गर्न बाध्य बनाइएकी एक भेनेजुएलाकी युवतीले पनि बोलेका थिए। उच्चायुक्त नाभी पिल्लेले कसैको नाफाका लागि व्यक्तिको स्वतन्त्रता, उसको इज्जत हनन् हुने गरी विश्वका सबैजसो मुलुकमा आक्रमण भइरहेको बताइन्। पीडितहरुको कथा सुन्न मात्र हैन, अन्तर्राष्ट्रिय समुदायलाई यो बढ्दो विश्वव्यापी समस्यालाई निराकरण गर्न उनीहरुको सुझाव सुन्न पनि यो कार्यक्रमको आयोजना गरेको उनले बताइन्।



del.icio.us
Digg



Post your comment