Home | News | गैँडाको नयाँ संसार
Newsletter
Email:

गैँडाको नयाँ संसार

Font size: Decrease font Enlarge font

पुस्तक लेखन र प्रकाशनमा अहिले एउटा सकारात्मक लहरजस्तो आएको छ । केही राम्रा समाजोपयोगी, राष्ट्र र समाजलाई केही नयाँ बाटो देखाउने पुस्तकहरू पनि यस क्रममा आएका छन् । समाजको ज्ञान-शाखामा विविधतासँगै लेखनमा विविधता र विशेषज्ञताले प्रवेश पाएको छ । अनि प्रकाशकहरू पुस्तकलाई बढी पठनीय र धेरै पाठककहाँ पुर्‍याउन सकिने बनाउन पनि तम्सेका छन्, प्रकाशकले पनि यसमा मिहिनेत गर्न थालेका छन् । यसरी नै विल्कुल नयाँ विषयलाई अत्यन्त रोमाञ्चक ढंगले प्रस्तुत गरिएको एउटा पुस्तक हो- कमलजंग कुँवरको गैँडालाई चार वर्ष, चितवन राष्ट्रिय निकुञ्जमा चोरी-सिकारी नियन्त्रणको अनुभव ।

नेपालको तराईमा पाइने दुर्लभ एकसिंगे गैँडा जोगाउन एउटा सरकारी अधिकृतले गरेका अथक प्रयास, उसले मोलेका जोखिम, नेपालको सत्तावृत्तमा खाग-तस्करहरूको प्रभाव तथा तस्करहरूको सञ्जालका बारेमा प्रायः 'फस्टह्यान्ड' अनुभवका आधारमा लेखिएको यो पुस्तक पछिल्लो समयमा पढ्न पाइएका थोरै, तर निकै राम्रा किताबको पहिलो पंक्तिमा पर्छ । धेरैजसो कामचोर, अल्छी र पैसाका लागि मरिहत्ते गर्ने भनेर बद्नाम नेपालको प्रशासनिक क्षेत्रमा रहेका केही मान्छे कसरी विनालोभ वा स्वार्थ आफ्नै जीवनको समेत पर्वाह नगरी गैँडाका लागि खटेका छन् अनि त्यही खटाइबापत तिनले कति झन्झट व्यहोर्नुपर्छ भन्ने कुराको उदाहरण कमलजंग र उनको टिमका सदस्यको कथाहरूले देखाएका छन् । अरू क्षेत्रमा पनि यस्तो योगदान गरिरहेका थुप्रै विशेषज्ञ होलान्, जसका कथा बाहिर आउन बाँकी होलान् ।

गैँडालाई चार वर्ष पुस्तकको नामले लेखकले केही घमण्ड गरेको चस्को दिन्छ, नाम हेर्नेबित्तिकै । तर, जति-जति पुस्तक पढ्दै गयो, त्यति-त्यति लाग्छ- कमल र उसको टिम -जसमा आर्मीका अफिसरदेखि सामान्य कर्मचारी सम्म पर्छन) ले नेपालको यो अमूल्य सम्पदाको रक्षाका लागि गरेको प्रयास पुस्तकको नामले संकेत गरेको भन्दा निकै बढी छ । कहिले पुगेको छ ठोरी, कहिले त्रिवेणी वा काठमाडांै । कहिले छापामारेको छ बिहे घरमा, कहिले समातेको मान्छे दिउँसै नारायणगढ बजारमा त्यो पनि अपहरणको शैलीमा । कहिले पुगेको छ रेस्टुरेन्टमा बियर खाने निहुँले त कहिले पुगेको छ राक्सीरांग माओवादीको एम्बुसको खतरा मोलेर । धेरै कथामा त्यत्तिकै रौँ ठड्याउने प्रसंग छन् ।

यो काम गर्दा कहिले आर्मी-अफिसर कर्णेल अजित थापाको असहयोग छ, कहिले आफ्नै कार्यालयको कानुनी सल्लाहकार वा सुब्बा उत्तमप्रसाद खरेलले घुस खाएर कसरी अपराधीहरू छुटाउथ्यो भन्ने सन्दर्भ छन् । अनि छन्, सबै पार्टीका नेता, तत्कालीन दरबार, शाहीसेना र प्रहरी वा सिडिओ र मन्त्रीहरूलाई तस्करले खरिद गरेका प्रसंग । यसमा एउटा सबैभन्दा खतरनाक आरोप भने नेकपा माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई गैँडा तस्करले प्रभावित गरेको भन्ने सन्दर्भ हो । आफू जेल परिसकेपछिका कमलजंग भने निकै हतास र अलि बायस पनि देखिन्छन्, कतै-कतै ।

मैले यो किताब पढिसकेको एक/दुई दिनपछि नागरिक दैनिकमा एकजना सचेत संरक्षण अभियन्ताको पत्र छापिएको छ, जसमा हेटौंडाको पुनरावेदन अदालतले कमलहरूले पक्राउ गरेका अपराधीलाई कम सजाय तोकेर सानालाई धेरै र ठूलालाई थोरै जेल हालेको प्रसंग छ । अर्थात् तस्करहरू नै अहिले पनि हावी छन् हाम्रो न्यायप्रणाली राज्यको शक्तिमाथि ।

अर्को कुरा यो सारा पुस्तक पढिसक्दा एउटा अचम्मको चित्र आउँछ- नेपालको यो आपराधिक गतिविधिको सबैभन्दा तलको तहमा प्रयोग भएकाहरू चेपाङ, तामाङ, थारू, मुसहर, विश्वकर्मा, माझी र गुरुङ बढी रहेछन् । तिनलाई चलाउनेमा बाहुन, क्षेत्री, ठकुरी तथा तिब्बेतीयन भोटे वा लामा बढी रहेछन् । अर्थात् सिकार खेलेर जोखिम उठाउनेहरू प्रायः गरिब वास्तवमै तन्नम गरिबहरू संलग्न छन् । अनि खाग बेचेर मस्ती गर्नेहरू अरू नै छन् । यसले गरिबीले कसरी मानिसलाई बर्बाद बनाउँछ भन्ने देखाउँछ । कोही अरब गएर गैँडा मार्न नेपाल फर्केका छन्, कसैका तीन पुस्ता यही पेसामा छन्, जेल परेका छन्, छुटेका वा छुटाइएका छन्, अनि फेरि त्यही पेसामा लागेका छन् ।

अर्को कुरा यतिका हल्लाका बाबजुद सरकारले यो चोरी-सिकारी रोक्न पर्याप्त स्रोत परिचालन गरेको छैन भन्ने अनेक सन्दर्भ छन् । यसै पुस्तकमार्फत गैँडा बचाउने प्रयास र त्यसका असफलताका अनेक प्रसंग उनले खुला दिलले लेखेका छन् । इकोसिस्टम जोगाउने सन्दर्भका हामीलाई नयाँ लाग्ने केही सन्दर्भ छन्, जसमा लेखकको मनभित्र वास बसेको संरक्षकको सौन्दर्यबोध गर्न सकिन्छ । मध्यवर्ती क्षेत्रका बासिन्दाका बीच नमिलेका कुरा र सन्दर्भ अर्थात् निकुञ्जहरू सबै समुदायलाई दिन हुने/नहुने तर्कका बीच कमलले आफूलाई दोस्रो पक्षमा उभ्याएर बहसमा सहभागी पनि भएका छन् ।

पुस्तकमा भएको अर्को पाटो हो- कमलको परिवार आमा, श्रीमती, छोरो र भाइका प्रसंग । यो निकै संवेदनशील पक्षले पाठकलाई लेखकप्रति अत्यन्त सहानुभूतिशील बनाइदिन्छ । मलाई यो पुस्तक पढिरहँदा हेम्जाको मिलनचोकबाट केही उत्तर लागेपछि बाटोको पूर्वतिर दक्षिण फर्केको र रातोमाटोले लिपेको साधारण घरमा ती कुँवरसँग ०४७ को असार/साउन महिनामा भेटेको सम्झना आयो । उनकी निकै मिहिनेती र धैर्यशील आमाको अनुहार झल्झली आयो । अनि यी अलि हठी र हक्की स्वभावका कमलजंगको त्यो कलिलो अनुहार सम्झना भएर आयो, जतिवेला म कास्की मालेको तर्फबाट इलाका-इन्चार्जजस्तो थिएँ र यिनी भर्खर फरेस्ट्री क्याम्पसबाट आइएससी सकेर जागिरको खोजीमा लाग्दै पार्टी काममा पनि जुटेका थिए ।

गैँडा जोगाउने अभियानका क्रममा नै यिनी जेल परे, यिनका बारेमा अनेक कुरा चर्चा भए अनि पत्रपत्रिकामा समेत लेखिए । म उनैको सहपाठी किरण पौडेलमार्फत यिनका बारेमा सबैकुरा बुझरिहेको थिएँ । उनलाई खाग बेचेर करोडौँ कमाएको आरोप लाग्दै गर्दा उनको छोरो, आमा वा भाइको उपचारखर्चका लागि किरणले नै गरिरहेको आर्थिक सहयोगका बारेमा पनि म जानकार नै थिएँ । कतिपय साथीलाई यो वास्तविकता बुझाउन निकै हम्मे परेको थियो । जे होस्, उनी धेरैजनाको सहयोग र सौराहाका जनसाधारण, उनका सहयोगी साथीहरूको समेत जोड-बलमा छुटे र अहिले यो पुस्तक हामीले पढ्न पायाँै ।

मैले पुस्तक पढेर यो टिप्पणी लेख्न आठ घन्टा समय लाग्यो, अर्थात् गैँडालाई चार वर्ष खर्चेको साथीका नाममा मेरो पनि आठ घन्टा समय बित्यो । जम्मा दुई सय २२ पेजको यो पुस्तक एकै बसाइमा सक्नै मन लाग्नेगरी लेखिएको छ, वस्तीले यसलाई सम्पादन गरेर लेखक र पाठक दुवैलाई गुुन लगाएका छन् । यसले नेपालको पुस्तक बजारमा आफ्नो अलग्गै परिचय बनाउन सफल छ, हुनेछ । सबैले पढे राम्रो हुने यो पुस्तकका लेखकलाई मेरो हार्दिक बधाई छ ।

Subscribe to comments feed Comments (2 posted):

shm on 18/04/2011 09:36:52
avatar
Aleluya!
Thumbs Up Thumbs Down
0
wildlife on 21/10/2011 22:00:33
avatar
rhinos should be saved at any cost.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0