Nepali TV: नारी दिवसको एक शताब्दी नारी दिवसको एक शताब्दी ================================================================================ Matrika Poudel on 08/03/2010 06:19:00 सन् १८५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाहरुले निश्चित कार्य घण्टाको मागसहित गरेको प्रदर्शनलाई विश्वको महिला आन्दोलनको सुरुआतको रुपमा लिने गरिएको छ। नेपालमा यो दिवस कहिलेदेखि मनाउन थालियो भन्ने ठ्याक्कै मिति नभएपनि विस १९७५ देखि महिला हकहित र अधिकारका कार्यक्रम गर्दै यो दिवस मनाउन थालिएको पाइन्छ। विस १९७४ मा महिला अधिकारको आन्दोलनलाई अगाडि बढाउन योगमायादेवी सर्दार र दिव्य कोइरालाले नारी जागृती सङ्घ नामक संस्था स्थापना गरेको देखिन्छ। नेपालमा यो वर्ष "सबैको विकासका लागि समान अवसर र समान अधिकार" भन्ने मूलनाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ। महिलाको हकहित तथा अधिकारका लागि नेपालमा छुट्टै महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, महिला आयोग, महिला विकास कार्यालयलगायका निकाय स्थापना गरिएका छन्। ऐतिहासिक संविधानसभामा ३३ प्रतिशत अर्थात १९७ जना महिला सभासद्को सहभागिता रहेको छ। सरकारले महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न कानुन निर्माण गरेर लागू समेत गरेको छ। यो वर्षमात्रै घरेलू हिंसा (सजाय तथा कसुर) विरुद्धको ऐन ल्याइएको छ। सरकारले जेजस्ता नीति तथा कार्यक्रम ल्याएपनि र राजनीतिक दलहरुले जेजस्ता प्रतिबद्धता व्यक्त गरेपनि नेपालमा ठूलो सङ्ख्यामा महिलाहरु अधिकारबाट बञ्चित रहदै आएका छन्।