Nepali TV: पैसा कमाउन डेनमार्क आउनुसः चुँडाल पैसा कमाउन डेनमार्क आउनुसः चुँडाल ================================================================================ Matrika Poudel on 14/01/2010 08:58:00 यो क्याफेको सबैभन्दा फरक विशेषताः भनेको चाहिँ के हो भनें यहाँ एकै ठाउँमा ३१ जना नेपाली काम गर्छन्, जुन युरोपमै एकमात्र उदाहरण हो । चुडाल तीनै हुन जो, हालै गठन भएको गैरआवासीय नेपाली संघ डेनमार्कका उपाध्यक्ष समेत हुन् । उनै चुडालसँग नेपाली टिभीको जम्काभेटका अवसरमा केही छोटो मीठो संवाद भएको थियो । प्रस्तुत छ सोही संवादको सम्पादित अंशहरु । डेनमार्कमा नेपाली विद्यार्थीको बिजोग छ भन्छन् तर तपाइ त जमाएरै बस्नु भएको रहेछ नि होइन ? डेनमार्क विश्वको सम्बृद्धशाली मुलुक हो र यो अवश्य पनि महंगो शहर हो । तर नेपाली विद्यार्थीको बिजोगनै छ भन्ने कुरा चाहिँ होइन । कर र कलेश शुल्कले ढाड सेकाए पनि अरु देशको तुलनामा राम्रै छ । जहाँसम्म मैले जमाएको कुरा छ, मैले शुरुमा धेरै दुःख पनि गरेँ तर अहिले एक दुईओटा क्याफे ह्याण्डल गरेर बस्न सक्ने भएको छु । श्रीमती र छोरालाई पाल्न सकेको छु । सामाजिक काममा पनि लागेको छु । यसलाई जमाएकै भन्नुपर्ला । यो क्याफेमा त धेरै नेपाली रहेछन् नि ? हो, डेनमार्कको क्याफे सिरफ लगभग नेपालीहरुलेमात्रै चलाएको भन्दा पनि हुन्छ । अहिले हामी ३१ जना नेपाली यो क्याफेमा काम गर्छौं । म यसको व्यवस्थापन हेर्छु । अरु साथीहरु बिभिन्न काम गर्नुहुन्छ । मेरा साथीहरु लण्डन, नर्वे, फिनल्याण्ड, जर्मनी, पोर्चुगल सबैतिर छन् । उनीहरुसँगको कुराका आधारमा भन्नुपर्दा यति धेरै नेपालीहरुले एकै ठाउँमा काम गर्ने सम्भवतः युरोपमै यो एकमात्र क्याफे हो । नेपाली आफैंले चाहिँ डेनमार्कमा व्यवसाय गरेका छैनन् ? केही नेपालीहरुले विदेशीसँग मिलेर शुरु गरेका छन् । सनसाइन बेकरी यहाँ नेपाली दाइहरुलेनै चलाएको सबैभन्दा पूरानो बेकरी हो । नेपालीहरुको कमाइ चाहिँ कस्तो छ, डेनमार्कमा ? यहाँ बाँच्न र पढ्नका लागि कम्तिमा १२ हजार क्रोनर महिनामा कमाउनैपर्छ । कलेज फि महँगो छ । १५ हजारसम्म कमाउदा सामान्य जीवन धानिन्छ । तर औषत नेपालीले २०, २५ हजार क्रोनर सम्म कमाइरहेका छन् । नेपालीहरुप्रतिको डेनिसहरुको दृष्टिकोण चाहिँ कस्तो पाउनुभएको छ ? नेपालीहरुलाई डेनिसले इमान्दार र मेहनती भनेर चिन्छन् । नेपालीलाई काम पाउन पनि सजिलै छ । जहाँ गए पनि नेपालीहरुले जमाएरै बसेका छन् । आफू काम गर्ने ठाउँमा दुई चार जना नेपाली पनि छिराउछन् । भनेपछि कमाउनका लागि डेनमार्कतिरै छिरे हुने भो ? यदि युरोपको कुनै पनि देशको स्थायी बसोबासको कागजात छ भनें, पैसा कमाउनका लागि डेनमार्क राम्रो ठाउँ हो । स्थायी भएकाले करमा छुट पाउछ, कलेज फि तिर्नुपर्दैन धेरै सुबिधा छन् । अहिले पोर्चुगल, फ्रान्स लगायतका देशबाट कागज भएका साथीहरु यहाँ आउने क्रम बढेको छ । गैरआवासीय नेपाली संघले चाहिँ के गरिरहेको छ ? एनआरएन डेनमार्क सम्भवतः सबैभन्दा कान्छो च्याप्टर हो । हामीले गत वर्षको अगष्टमा डेनमार्कमा एनआरएन च्याप्टरको तदर्थ समिति गठन गरेका हौं । यसबीचमा नेपाली साथीभाइहरुलाई परेको अप्ठेरोमा सबै एकजुट भएर सहयोग गरेका छौं । हालैमात्र जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन आउनुभएका सम्माननीय प्रधानमन्त्री, मन्त्री र अन्य सहभागीहरुको लागि आवश्यक पर्ने र सक्ने जति सहयोग हामीले गरेका छौं । भविष्यमा हामी थप मजबुत हुनेछौं ।