Nepali TV: जनताका मनको कुरा बोल्ने नेता जनताका मनको कुरा बोल्ने नेता ================================================================================ Bijay Thapa on 18/09/2009 08:34:00 नेपालमा संघर्षपूर्ण गाथा बोकेका थोरै नेतामध्ये गणेशमान सिंह एक हुनुहुन्छ । परिवारका सबै सदस्य तत्कालीन राणाहरूसँग निकट हुँदा-हुँदै पनि उहाँले परिवारसँग विद्रोह गर्नुभयो र राणाशासनविरुद्ध खडा हुनुभयो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँले हामीलाई जनताको मुक्तिका लागि लड्न प्रेरित गरिरहनुभयो । नेपाली इतिहासमै संघर्षपूर्ण गाथा बोक्नुभएका उहाँसँग मेरो रगतको नाता छ । उहाँ मेरा बुबा हुनुहुन्थ्यो । सबै नेपालीसँग बुबा (गणेशमान)को भावनात्मक र स्वतन्त्र आन्दोलनको नाता गाँसिएको छ । विसं १९९७ देखि २०४६ सम्मलाई फर्केर हेर्दा बुबाले प्रजातान्त्रिक पद्धति र जनताको मुक्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभएको थियो । तत्कालीन राणा शासनको अन्त्यसँगै सबै नेपालीलाई रैतीबाट नागरिक बनाउन बुबाले पुर्‍याउनुभएको योगदान साह्रै महत्त्वपूर्ण छ । जनताको स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध कुनै पनि शक्तिसँंग बुबाले कहिल्यै सम्झौता गर्नुभएन, न झुक्नुभयो । राणा शासनविरुद्ध लागेका कारण उहाँलाई विसं १९९७ सालमा तत्कालीन सरकारले गिरफ्तार गरी कठोर याताना दिएको थियो । राणाशासनको वेला पनि उहाँ(गणेशमान सिंह) को बाजे वडाकाजी रत्नमान, गुञ्जमान सिंहलगायत सबै परिवारको राणाहरूसँग निकै राम्रो सम्बन्ध थियो । जनताको छोरा त्यतिवेला सबैभन्दा माथि हुने भनेको बडाकाजी हो । बडाकाजीकै नाति हुनुहुन्थ्यो गणेशमान । राणाहरूले आफ्ना बाबु-बाजेलाई दिएको सम्मान पनि उहाँलाई मन परेन र परिवारसँग समेत विद्रोह गर्नुभयो । जनताको पक्षमा सारा जीवन लगाउने अठोट गर्नुभयो । उहाँलाई त्यतिवेला नपुग्दो केही थिएन । सायद राणाहरूको गुनगान गाएर बसेका भए उहाँलाई पनि बाजेहरूलाई जस्तै सम्मान मिल्थ्यो । तर सान, मान, आराम सबै छोडेर उहाँ आफ्नो सिद्धान्त र निष्ठाका लागि राणाहरूका विरुद्ध लाग्नुभयो । १९९७ मा नै जेल पर्नुभएका उहाँ २००१ सालमा भद्रगोल (केन्द्रीय) कारगारबाट पर्खाल नाघी भाग्नुभएको थियो । केन्द्रीय कारागारको दुई-दुईवटा पर्खाल नाघेर जेल तोड्नु चानचुने कुरा थिएन । वर्षांको योजनापछि उहाँ जेल तोड्न सफल भएको हामीलाई सुनाउने गर्नुहुन्थ्यो । तत्कालीन सरकारले वर्षको एकपटक लगाउन दिएको धोती संकलन गरेर त्यसको सहारामा जेल तोडेको हामीले सुनेका थियौंँ । जेल बस्नुभन्दा निर्वासमा बसेर राणाविरुद्ध संगठन गर्नसके राणाशासनविरुद्ध लड्न सजिलो हुन्छ भन्ने उहाँ -गणेशमान सिंह) को बुझाइ थियो । विसं २००१ सालमा जेलका दुई पर्खाल नाघेर भाग्न सफल भएपछि उहाँ सीधै बनारसमा बिपी कोइराला भएको ठाउँमा जानुभयो । बुबाले कोइरालासँग मिलेर बनारसमै नेपाल राष्ट्रिय कांग्रेस गठन गर्नुभयो । फेरि केही समयपछि प्रजातान्त्रिक कांग्रेससँग मिलेर नेपाली कांग्रेस गठन गर्नुभयो । दुई कांग्रेसको एकीकरणपछि २००७ सालको क्रान्तिको नेतृत्व गर्‍यो नेपाली कांग्रेसले । उहाँ हामीलाई सधैं राजनीतिक 'फ्रिडम'विना मानव विकास सम्भव छैन भन्नुहुन्थ्यो । त्यही विश्वासले उहाँ (त्रिभुवन, महेन्द्र र वीरेन्द्र) तीनजना राजाहरूसँग लड्नुभयो । त्यसैको परिणति हो २०४६ को जनआन्दोलन । यसले जनतालाई पूर्ण रूपमा स्वतन्त्र बनायो । २००७ सालको परिवर्तनपछि बिपी कोइरालाको नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारमा समेत उहाँ (गणेशमान सिंह) मन्त्री भइसक्नुभएको थियो । उहाँ एउटै प्रतिबद्धतामा निरन्तर निडर हिँडिरहने व्यक्ति हो । ६० वर्षे लामो राजनीतिक यात्रामा उहाँले १५ वर्षभन्दा बढी समय त जेलमै बिताउनुभएको थियो । त्यति नै समय उहाँले निर्वासित जीवन बिताउनुभयो । जनताको छोरो । त्यो पनि राणाहरूकै संगतमा हुर्केको मान्छे शासकको विरुद्धमा लाग्नु चानचुने कुरा थिएन । राणाहरू कतिपय मान्छेलाई आन्दोलनमा लागेको भन्दै बयानसमेत लिन्थे रे । त्यसको कति पनि पर्वाह नगरी उहाँ प्रजातन्त्र र जनताको मुक्तिका लागि सधैं लड्नुभयो । राणाहरूको अगाडि कोही पनि टाउको उठाएर बोल्न सक्ने अवस्था थिएन रे त्यसवेला । अहिलेजस्तो कहाँ हो र ? त्यसवेला राणाहरूलाई 'तिमी' भन्ने हिम्मत कसैको थिएन रे । त्यस्तो वेला पनि उहाँ राणाहरूलाई 'तिमी' भनेर सम्बोधन गर्नुहुन्थ्यो रे । जसका कारण राणाहरूले उहाँलाई सयाँं कोर्रा बर्साएका थिए रे । राणाहरूले सिंहदरबारभित्र भारदारहाई समेत राखेर कोर्रा हान्थे भनी बुबा हामीलाई सुनाउनुहुन्थ्यो । राणाहरूले उहाँलाई पनि झुन्ड्याउने निर्णय गरेका थिए । २००७ सालको क्रान्तिले उहाँ बाँच्न सफल हुनुभयो । पञ्चायत शासनमा पनि उहाँलाई राज्यविरुद्धको अपराधमा मुद्दा लगाइएको थियो । ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट बिपी कोइराला, उहाँ (गणेशमान सिंह) स्वदेश र्फकंदा उहाँमाथि आधा दर्जन ज्यानमुद्दा लागेका थिए । तर पनि उहाँहरू त्यसको वास्ता नगरी स्वदेश फिर्नुभएको थियो । दक्षिण एसियामा अस्थिरताको हावा बगेको वेला प्रजातन्त्रवादी र राष्ट्रवादी एकै ठाउँमा रहनुपर्छ भनेर देश र्फकनुभएको थियो उहाँहरू । २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह र २०४६ सालमा त जनआन्दोलन नै भयो । २०४६ मा उहाँकै आह्वान र नेेतृत्वमा राजाविरोधी शक्तिलाई एकत्रित गर्ने काम भयो । कम्युनिस्टहरूलाई पनि कांग्रेसकै छातामुनि ल्याएर २०४६ सालको जनआन्दोलन सफल भएको हो । कांग्रेसभित्र पनि आन्दोलनको पृष्ठभूमि उहाँले नै बनाउनुभएको हो । कांग्रेसले जनआन्दोलन गर्ने भएपछि चिरा-चिरामा बाँडिएका कम्युनिस्टहरूलाई उहाँले नै बोलाएर 'तपाईंहरू एउटा मोर्चा बनाउनूस्' भन्नुभएको थियो । यसो गर्दा कोसँग, कतिजनासँग मोर्चा बनाउने भन्ने समस्या भएपछि साहना प्रधानको नेतृत्वमा वाममोर्चाको गठन भएको हो । २०४६ सालको जनआन्दोलनको सफलतापछि सहिद मञ्चमा आयोजना भएको सभामा उहाँले 'राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुरक्षित गर्न अब आर्थिक-क्रान्तिको बाटो समाउनुपर्छ' भन्नुभएको थियो । उहाँले त्यसवेला पनि नेपाल बहुभाषी बहुजातीय मुलुक भएकाले सबैमा सन्तुलन कायम गर्नुपर्छ भन्नुभएको थियो । अहिले समावेशको मुद्दा निकै उठेको छ, यो त गणेशमान सिंहले २०४६ सालको राजनीतिक परिवर्तनको लगत्तै उठाउनुभएको थियो । अधिकारबाट वञ्चित गरिएका वर्गलाई स्थान दिनुपर्छ भन्नुभएको थियो । त्यसवेला पनि त्यो पूर्ण हुन सकेन । परिणमा २०६२/०६३ मा अर्को आन्दोलन आवश्यक भयो । उहाँले कांग्रेसको सरकार हुँदा पनि पटक-पटक सन्तुलन कायम गरेर जान भन्नुभएकै हो । जुन पार्टी (नेपाली कांग्रेस) उहाँले जन्माउनुभयो, त्यसैमा रहेर लामो समयसम्म संघर्ष गर्नुभयो । उहाँले संघर्षकै वेला जेलबाट भागेर बनारस जाने क्रममा दाजर्लिङमा जेल तोडेको कथा पटक-पटक सुनाएरसमेत आन्दोलनका लागि रकम उठाउनुभएको थियो । उहाँ घटनालाई टुक्राटुक्रा बनाएर रोचक ठाउँमा पुर्‍याई फेरि अर्को दिन त्यसैलाई निरन्तरता दिनुहुन्थ्यो रे । त्यसरी जेल तोडेको कथा सुनाएर उठेको रकम सबै बिपी कोइरालालाई बुझाउनुभएको थियो । उहाँको भाषण सुन्न मानिस त्यतिवेला पनि निकै उत्सुक हुन्थे । भाषण गर्दा उहाँ उखान टुक्काहरू जोडेर निकै रोचकसँग गर्नुहुन्थ्यो । सबैलाई हसाउँदै राजनीति सन्देश दिन सक्ने क्षमता उहाँमा थियो । घन्टांैसम्म पनि भाषण गर्नुहुन्थ्यो गणेशमान । सायद, नेपालको इतिहासमै भद्रगोल जेल तोडेर भाग्ने उहाँ पहिलो नेता हो । जेल तोडेर फरार भएपछि तत्कालीन सरकारले उहाँको नाममा गोरखापत्रमा 'वान्टेड' जारी गरेको थियो । जीवित वा मृत अवस्थामा फेला पार्नेलाई पुरस्कार दिने घोषणा पनि थियो सरकारको । गणेशमान त्यहाँबाट भागेपछि उहाँको सम्झनामा भागेको ठाउँमा टावर थपेको छ । जेलर र त्यहाँका स्नानीय बासिन्दा त्यस टावरलाई गणेश बुर्जा भन्दारहेछन् । जेल तोडेर भाग्नु निकै कठिन काम हो । त्यसका लागि तयारी पनि निकै गर्नुपर्‍यो रे । उहाँ हुक बनाएर जेलबाट बाहिरिनुभएको थियो । उहाँले आफ्नो जीउधन सबै लगाएर जन्माएको पार्टी हो नेपाली कांग्रेस । नेपालमा मात्र नभई दक्षिण एसियामै प्रजातन्त्रका लागि लड्ने पार्टी कांग्रेस हो भनेर उहाँले चिनाउनुभएको हो । २०४६ को आन्दोलनपछि उहाँलाई प्रधानमन्त्रीको प्रस्ताव राजाले गरेका थिए, जनआन्दोलनको कमान्डर भएको नाताले । तर, उहाँले त्यसलाई अस्वीकार गर्नुभयो । राजा वीरेन्द्रले उहाँलाई 'अब मुलुक तपाइर्ंले नै सम्हाल्नू, प्रधानमन्त्री बन्नुहोस्' भन्नुभएको थियो । तर, उहाँले 'मेरो यतिको त्याग र बलिदान म आफू प्रधानमन्त्री बन्न होइन' भन्नुभएको थियो । उहाँलेनै प्रधानमन्त्रीका लागि कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गर्नुभएको हो । इतिहासको पाना पल्टाएर हेर्ने जनताको सिफारिसमा भट्टराईजी जनताको प्रधानमन्त्री बन्नुभयो । अन्यथा राजाले जो चाहे त्यही हुन्थ्यो । २०१७ साल पछि धेरै समय जेल बस्ने बिपी , उहाँ(गणेशमान सिंह), देवानसिंह राई, रामनारायण मिश्रहरू हुन् । सच्चा प्रजातन्त्रवादी को हो ? भन्ने विषयमा उहाँहरूको जेलमा बस्दा पनि लामो बहस भएको थियो रे । बहसपछि संघर्ष मात्र होइन, त्यसपछिका दिनमा पनि उसको आचारण प्रजातान्त्रिक हुन्छ की हुदैन, त्यसलाई मात्र प्रजातन्त्रवादी भन्न सकिने निचोडमा उहाँहरू पुग्नुभएको थियो रे । उहाँ त जनताको मनको कुरा बोल्नुहुन्थ्यो । सायद, नेपाली राजनैतिक इतिहासमै सबैभन्दा बढी दुःख पाएका नेता गणेशमान नै हुनुहुन्छ । प्रजातन्त्र ल्याउन कांग्रेसको धेरै ठूलो योगदान छ र प्रजातन्त्रको पुुनस्र्थापना गर्नेमा पनि । कंाग्रेस नेताहरूले जेलनेल खेपेका छन् । तर, पावरमा पुगेपछि उसले आफ्नो क्षमता देखाउन सकेन । कांग्रेसले संघर्ष निकै गर्‍यो । मुलुकमा भएका सबै परिवर्तनको नेतृत्व गरेको छ उसले । तर, त्यसलाई टिकाउनेगरी कांग्रेस चल्न सकेको छैन । अब कांग्रेस त्यसअनुसार चल्न सक्नुपर्छ । उहाँले भनेका कुरा र कार्यक्रमहरू गर्न नसकेकै कारण २०४७ सालको विश्वकै नमुना भनिएको संविधान पनि लामो समय टिक्न सकेन । संविधान मात्र राम्रो भयो/भएन, शासन गर्नेहरूको आचारणमा पनि भर पर्छ । कांग्रेसले उहाँका लागि केही गरेन । उहाँले जीवनको अन्तिम समयमा पार्टीका नेताहरूको रबैया देखेर 'म अब यो पार्टीमा रहन सक्दिनँ' भन्नुभयो र कांग्रेसबाट नै अलग हुनुभयो । संघर्षका वेला आमा-बुबा दुवै राजनीतिमा लाग्दा समय गुर्जान हामीलाई निकै कठिन भएको थियो । आमा-बुबा जेलमा हुँदा हामी साना नानीलाई घरमा बस्न निकै गाह्रो भएको थियो । झन् त्यसमाथि आन्दोलनका लागि परिवारले सघाएको थिएन । अहिले म बसेको ठमेलको घर १७ वर्षसम्म मुद्दा लडेर जितेपछि आफ्नो घरमा बस्न पाएका हौं । त्यसअघि त हामी डेराको घरमै बस्दै आएका थियौँ । कांग्रेसमा लागेर धेरै साथीहरूले दुःख-कष्ट झेल्नुपरेको छ । एउटा परिवारको योगदानले मात्र अहिलेको कांग्रेस बनेको होइन । हजारौं नेपालीको योगदान र संघर्षले पार्टी बनेको हो । २०४८ सालको आमनिर्वाचनमा टिकट वितरण भएपछि आफ्नो छोरा र श्रीमतीलाई टिकट दियो भनेर नारा लागेपछि उहाँले निकै चित्त दुखाउनुभयो । उहाँ अधिकार सबैले समान रूपमा पाउनुपर्छ भन्नुहुन्थ्यो । सबैमा सन्तुलित रूपमा अधिकारकारको बाँडफाँड हुनुपर्छ भन्नुहुन्थ्यो । त्यस्तै आर्थिक क्रान्तिको कुरा पनि निरन्तर रूपमा गर्नुहुन्थ्यो । जलस्रोतको अथाह सम्पदा नेपालीहरूको हितमा प्रयोग गर्नुपर्छ भन्ने धारणा थियो उहाँको । किसुनजी प्रधानमन्त्री भएपछि उहाँसँग मार्गनिर्देशन लिन आउनुभएको थियो । त्यसवेला पनि उहाँले एक वर्षभित्र प्रजातान्त्रिक संविधान लेखिनुपर्छ, संविधान लेखेर मात्र जनताले भोगेका दुःखकष्टको अन्त्य हुन्छ भन्नुभएको थियो । उहाँ मलाई आफ्नो सिद्धान्तमा सधैं अडिक हुनुपर्छ भनिरहनुहुन्थ्यो । तर, आफ्नो सिद्धान्तमा अडिक हुँदा धेरै दःुख हुँदोरहेछ । यसैगरी, आफ्नो लक्ष्य पनि भेटिन्छ भन्ने मैले उहाँबाट सिकेको छु । म उहाँजस्तो त बन्न सक्दिनँ । तर, उहाँले देखाउनुभएको बाटोमा हिँड्ने प्रयासचाहिँ सधैं गर्छु । मलाई थाहा छ उहाँको बाटो हिँडे समुन्नत मुलुक निर्माण गर्न सकिन्छ । जस्तोसुकै आँधीतुफान आए पनि उहाँले जस्तै आफ्नो योजना र लक्ष्यमा निरन्तर हिँडिरहनुपर्छ ।